हिमाली शेर्पा

     

 
 
 
 

शेर्पा भाषा धर्म र संस्कृति

This domain is on SALE !!!
If you are interested please send your
offer at info@webhostingnepal.com

 

शेर्पाहरूको इतिहास बारेमा विद्वानहरू बीच केही मत भिन्नता भए तापनि भाषा, धर्म र संस्कृतिसँग जोडेर हेर्दा शेर्पाहरुको उत्पत्ति थलो भोट वर्ष मैं हो भन्न सकिन्छ । भोट देशबाट वर्तमान नेपालको पूर्वी हिमाली भेगमा रहन्दै आएकोले शेर्पा अर्थात् पूर्वेली, पूर्वमा बस्ने समुदाय भनेका हुन । शुरुमा शेर्पाहरू नेपालको पूर्वी क्षेत्र सोलुखुम्बुमा रहन्दै आए तापनि वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्ग, खोटङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ ।

हाल नेपालको अधिकांस जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको छन् भने भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आछाम र पश्चिम वंगल त्यस्तै गरी तिब्बत, भूटान तथा यूरोप र अमेरिकामा पनि शेर्पाहरू बसोबास गर्दै आएको पाईन्छ ।

शेर्पा भाषा र लिपि

आफ्नो भावना वा विचारलाई सजिलोसँग छिटोछरितो व्यक्त गर्न भाषाको प्रयोग गर्दछन् । त्यसैले मानिस र भाषाको बीचमा अभिन्न सम्बन्ध रहेको छ । भाषा मानिसको विचार व्यत्त गर्ने महत्वपूर्ण संचार प्रणाली अथवा साधन हो । कुनै पनि समुदाय वा वर्ग विशेषका पहिचान गर्नु भाषाको महत्वपूर्ण भूमिका हुन्छ । भाषा र संस्कृति विना जातित्वको पहिचान हुन सक्दैन । शेर्पा समुदायमा एक अर्का बीच आफ्नो विचार व्यक्त गर्ने आफ्नो अलगै भाषा रहेको छ, जसलाई हामी शेर्पा भाषा भन्ने गर्दछौं ।

त्यसैले शेर्पाहरूको पनि आफ्नो छुट्टै भाषा विकास भएको छ । यो भाषाको शुद्ध उच्चारण गर्नु सक्ने लिपि भनेको सम्भोट लिपि हो । जुन प्रकारले संस्कृत, पाली, हिन्दी, नेपाली, भोजपुरी आदि भाषाहरूमा देवनागरि लिपिको प्रयोग गरिन्छ । त्यसै गरी तिब्बती, शेर्पा, लद्दाखी, भुटानी, भोटे आदिका भाषाहरूमा सम्भोट लिपिको प्रयोग गर्ने गर्दछ । प्राचीनकालदेखि नै शेर्पाहरूले सम्भोट लिपिको प्रयोग गर्दै आएकोले शेर्पा समुदायले आजसम्म मातृ भाषा लेखनको लागि यसको अलव छुट्टै वर्ण लिपिको आवश्यकता भएको महासुस गरेको छैन ।

शेर्पाहरूको धर्म

नेपालको लुम्बिनीमा जन्मनु भएका शिद्धार्थ गौतमले बुद्धात्व प्राप्त पश्चात् भारतको धेरै ठाउँमा उपदेश दिनुभएले भारतमा बौद्ध धर्मको विकास भएको थियो । तत् पश्चात् कालान्तरमा यस धर्मको विकास र लोकप्रियताले चीन, तिब्बत, जापान र मंगोलिया लगायत एशियाका धेरै मुलुकहरूमा व्यापक स्थान पायो । त्यसै क्रममा हिमाली क्षेत्र तिब्बतमा सर्वप्रथम धर्मराज सोङ्चेन गम्पो (जन्मकाल ५५७ ई.) को राज्यकालमा बौद्ध धर्मको प्रवेश भएको थियो र विशेषतः (७६३ ई.मा) नालन्दाबाट शान्तरक्षितको तिब्बत आगमन पश्चात् यसले अझ व्यापक रूप लिएको थियो । उहाँलाई तिब्बतमा बौद्धधर्मको प्रचारार्थ स्वयं राजाले आमन्त्रण गर्नुभएको थियो ।

त्यसपछि पनि विभिन्न कालक्रममा तिब्बती राजाहरूको अनुरोधमा बौद्ध धर्मको प्रचार–प्रसार तथा बुद्धवचन एवं अन्य बौद्ध धर्म–दर्शन शास्त्रहरू तिब्बती भाषामा अनुवाद गर्ने हेतुले भारतवर्षबाट उल्लेख्य रूपमा प्रकाण्ड बौद्ध विद्वान् एवं पण्डितहरूको तिब्बतमा आवागमनक्रम जारी रहेको थियो । तिब्बतमा प्रारम्भिक बौद्ध धर्मको विकासको दृष्टिले खेन–लोप–छ्योसुम अर्थात् उपाध्याय शान्तरक्षित, आचार्य पद्मसम्भव र धर्म राजा ठिसोङ देउचेनलाई प्रमुख पात्रको रूपमा लिईन्छ ।

यानको दृष्टिले तिब्बती बौद्ध परम्परा महायान अन्तर्गत पर्दछ । किनकि बौद्ध धर्मको प्रचारक्रममा भारतका दक्षिणी प्रदेशहरूमा हीनयानको अधिकतम प्रचार भएको थियो भने उत्तरी प्रदेशहरू जस्तै तिब्बत, चीन, कोरिया, मंगोलिया एवं जापानमा महायान बौद्धधर्मको व्यापक प्रचार प्रसार भएको थियो। त्यसपछि तिब्बतमा महायान बौद्ध धर्मको विकासक्रममा ञिङमा, कग्र्युद, साक्य, गेलुग सहित चार महायान तिब्बती बौद्ध परम्पराहरूको विकास भएको थियो । जसलाई तिब्बतमा बौद्धधर्मको चरम विकासको रूपमा लिन सकिन्छ । ती मध्ये ञिङमा परम्परालाई तिब्बतकै प्राचीनतम बौद्ध दर्शन परम्पराको रूपमा मानिन्छ ।

सोही महायानी ञिङमा परम्परा नै शेर्पा समुदायहरूको प्राचीन तथा आदर्श धर्म हो । यसैमा शेर्पा समुदायहरूका सम्पूर्ण संस्कृति र जीवनशैलीहरू आधारित छन् । आज पनि बहुसंख्यक शेर्पाहरू ञिङमा परम्परालाई आफ्नो आस्था–भक्तिको केन्द्र मान्दछन् भने कग्र्युद, साक्य र गेलुग परम्परामा आस्था राख्नेहरू पनि रहेका छन् । त्यसै कारण शेर्पा समुदायहरूले प्राचीनकालदेखि नै बौद्ध धर्मको अनुसरण गर्दै आएको देखिन्छ ।
शेर्पाहरूको मूल थलो सोलुखुम्बु क्षेत्रमा सर्वप्रथम लामा साङ्वा दोर्जेले ञिङमा परम्पराको शुरुवात गर्नुभएको थियो । खुम्बु क्षेत्रको पाङवोचे भन्ने ठाउँमा पाल्रिवोे नामक गोन्पाको निर्माण गरेर उहाँले यस परम्पराको प्रारम्भिक स्थापना गर्नु भएको बुझिन्छ । उक्त गोन्पालाई स्थानीयबासीहरूले सबैभन्दा पुरानो गोन्पाको रूपमा लिने गर्दछन् ।

शेर्पा इतिहासहरूमा उल्लेख गरे अनुसार लामा साङवा दोर्जे का महिल भाइ राल्वा दोर्जे र कान्छा भाइ खेन्पा दोर्जेले पनि क्रमशः थामे र रिमीज्युङ भन्ने गाउँमा ञिङमा गोन्पा स्थापना गरी बौद्ध धर्म र दर्शनको व्यापक प्रचार–प्रसार गर्नुभएको थियो । यस क्रममा सोलुखुम्बु क्षेत्रमा कैयौं बौद्ध गोन्पाहरू निर्माण भइसकेका छन् । यी गोन्पाहरूमा शेर्पाहरूले दैनिक पूजापाठ र धार्मिक गतिविधि लगायत वार्षिक रूपमा मनाइने विशेष बौद्ध उत्सव र अन्य सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गर्दै आएका छन् ।

अधिकांश गोन्पाहरूमा बौद्ध धर्म र दर्शन विषयक शिक्षाहरूको गहन अध्ययन–अध्यापन समेत हुँदै आएकोले गोन्पाहरूलाई एउटा सामुहिक आस्थाको केन्द्र मात्र नभएर समग्र बौद्ध शिक्षाको केन्द्र एवं विद्यापीठको रूपमा पनि मान्न सकिन्छ । बौद्धधर्म र शिक्षालाई प्रचार गर्ने क्रममा प्राचीनकालीन शेर्पाहरूले बौद्ध गोन्पा निर्माणको अतिरिक्त तथागत बुद्धको विविध चैत्य निर्माण, षडाक्षरी मन्त्र (ॐ मणि पद्मे हूँ) युक्त ढुङ्गामानेको स्थापना, विभिन्न चट्टानहरूमा विविध बौद्ध मन्त्रहरूको अंकन, अग्ला डाँडाहरूमा धारणीमन्त्रयुक्त मणि, हातेमाने (मणि लकखोर) द्वारा सुसज्जित द्वार (कनिङ) र खोला नालाहरूमा जलमाने (मणि छुखोर) जस्ता त्रिरत्नका काय, वाक् र चित्तका प्रतीकात्मक आधार–अधिष्ठानहरू समेत निर्माण गरेका छन् ।

साथै शेर्पाहरू विश्वशान्तिको कामना र परहितको भावनापूर्वक उच्च पहाड–पर्वत, गहिरो नदीनाला, घन वनजंगल र रमणीय तथा एकान्त स्थलहरूमा विश्वशान्ति, आरोग्य एवं अनेकन रक्षामन्त्रयुक्त पञ्चरंगी ध्वजा–पताका (लुङता) हरू लगाउने गर्दछन् । पाप शोधन र पुण्यार्जनको रूपमा गोरेटो बाटो खन्ने, भोकोनांगोलाई यथा शक्य भोजनदान र वस्त्रदान गर्ने, खोलानालाहरूमा पुल निर्माण गर्ने, दिनको अन्तमा आफुले गरेका पापहरूको शुद्धि अर्थ षडाक्षरी मन्त्रोच्चरण गर्दै माला जप्ने र दिनको आरम्भमा सम्पूर्ण कार्यहरू कुशलमूलक भइ पवित्र जलार्पण (योनछयाप) गरी नमन गर्ने गर्दछन् । यी सबै आचरणहरूलाई शेर्पाहरूले प्राचीनकालदेखि नै दैनिक चर्याको रूपमा सम्पन्न गर्दै आएका छन्, जुन बौद्ध धर्मका विशुद्ध आचारपक्षहरू हुन् ।

 

शेर्पा संस्कृति
परपूर्वकालदेखि शेर्पाहरू बौद्ध धर्ममा आस्था र विश्वास राख्ने भएकोले जुन सुकै सामाजिक कार्य गर्दा अहिंसा र प्रतीत्यसमुद्पादको सिद्धान्तमा रहेर सम्पूर्ण कार्यहरू सु–सम्पन्न गर्ने गर्दछन् । त्यसैले शेर्पा समुदायको समाज मैत्री र करुणा आदि भावनाले परिपूर्ण भएको समाज हो । यो समाज हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरूबाट टाढा रहेको छ ।

शेर्पाहरूको आफ्नै वेष–भुषा, नाच–गान, खान–पान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङ्ग रोगन, मुर्ति काल, चित्र काल आदि अन्य समुदयको भन्दा केही फरक रहेका छन् । शेर्पाहरूले मन्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव –ल्हाबापा तुइक्षेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, कृष्ण पक्षको दशमी पूजा, (छेचु) र शुक्ल पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङन्य (मौन व्रत) डुम्ची (डुव्क्षोद्) लोसार आदि रहेका छन् । यदि शेर्पालाई जीवित राख्ने हो भने शेर्पा भाषा, धर्म र संस्कृतिलाई बचाउनु पर्दछ । भाषा, धर्म र संस्कृतिको बिना कुनै समुदायको अस्तित्व नै रहन्न सकिन्दैन ।

 
   



Laser 5210N Free counter and web stats