हिमाली शेर्पा

     

 
 
 
बौद्ध मुर्तिकलामा वैज्ञानिक अनुसन्धानकर्ता र थेरवादी बौद्ध भिक्षुहरूको भनाइ

विशेष थेरवादी वर्गमा प्रचलित मिलिन्द राजाको प्रश्न भन्ने ग्रन्थमा उल्लेख गरे अनुसार बुद्ध स्वयंले आफ्नो सेवकलाई आज्ञा गर्दै भन्नुभयो “हे आनन्द ! तिमीहरूको बुद्धको शरिर पुजामा नलाग्नु भन्ने कुरालाई आधारमानी बुद्धको काल अवधिमा बुद्धको आज्ञा अनुरुप बौद्ध चैत्यको पुजा बाहेक मुर्ति पुजा र मुर्ति कलाको विकास भएको थिएन भन्ने मत रहेको पाइन्छ । वैज्ञानिक अनुसन्धान कर्ताहरूले पनि त्यस समयको कुनै पनि बुद्धको मुर्ति फेला नपरेकाले सो समयमा बुद्ध मुर्तिकलाको विकास भएको थिएन होला भन्ने अनुमान लगाउने गरेका छन् ।

बुद्धको महापरिनिर्वाण भए पश्चात् बुद्धको स्मृतिमा उहाँका अनुयायीहरूले बुद्धको अस्तु राखी चैत्य निर्माण गरी पुज्ने र उहाँ स्वयंले प्रयोग गरेका भिक्षा पात्र चिवर जस्ता वस्तुहरूलाई पुजाको आधार मानी पुज्ने गरेका थिए । यसै गरी बुद्धको जन्म संकेतका लागि हात्तीको प्रतिमा र चित्र निर्माण गर्ने, गृहत्यागको संकेत गराउनलाई घोडाको प्रतिमा, तपश्याको संकेत गराउनलाई बोधि वृक्ष, धर्म चक्र प्रवर्तनको संकेतका लागि चक्र, त्यसै गरी महा परिनिर्वाणको संकेतका लागि चैत्यको निर्माण गरी पुजा गर्ने प्रचलन पनि चलिआएको हो भनी मान्दछन् ।

उनीहरूको मत अनुसार बुद्ध मुर्ति बनाउने प्रचलन बुद्ध महापरिनिर्वाण भएर करिव ३०० वर्ष सम्म पनि थिएन भनी मान्ने गर्दछन् । उनीहरूको तथ्यांक अनुसार बुद्ध प्रतिमा बनाउने प्रचलन सर्वप्रथम इसापूर्व करिब २०० देखि १०० को अवधिमा भएको होला भन्ने अनुमान गर्दछन् किनकि १९ औं सताब्दीमा (1870) लाइट्नर नामका खोज कर्ताले भारतको गान्धारमा विभिन्न मुर्ति र पुराना वस्तुहरू फेला पारी बेलयद (England) लगी अनुसन्धान गर्दा ती बस्तुहरू करिब इसापूर्व २०० को अवधिमा बनिएको प्रमाणित गरे ।

सो मुर्तिहरू इसापूर्व २००–१०० सम्ममा भारतको दक्षिण पश्चिममा पर्ने गान्धार राज्यमा ग्रीक (Greek)हरूले अतिक्रमण गरी सोही स्थानमा बसोबास गर्दै जाँदा बौद्ध धर्ममा आस्था जागी बुद्धमुर्ति मानव आकारमा सर्वप्रथम निर्माण गर्ने प्रचलन ल्याई त्यसै मुर्तिलाई आधार मानी मथुरा र साँची जस्ता विभिन्न ठाउँमा मुर्ति निर्माणको प्रचलन शुरु भएको भनी मान्दछन् । केहि विद्धानहरूले चाहि के भन्दछन् भने बौद्ध मुर्तिकलाको शुरुवात कुशाण वंशका राजा कनिष्कको समयमा गान्धार र मथुरा जस्ता ठाउँहरूमा प्रचलनमा आएको हो भनी भन्दछन् ।

यसै प्रसंगलाई लिई केहि कुरा गर्दा माथि उल्लेखित विषयम प्रायजसो वैज्ञानिक अनुसन्धानकर्ता र थेरवादी विद्धानहरूका भनाई अनुसार बौद्ध मुर्तिकलाको विकास इसापूर्वको द्धितिय सताब्दीमा महायान धर्म प्रचार प्रसार सँगसँगै भइ आएको हो भनी भन्ने एकै मत रहेको छ । तसर्थ हामीले पनि यस कुरालाई मनन् गर्नुपर्छ कि वैज्ञानिकहरूले अनुसन्धान गर्ने क्रममा आज सम्मको सबैभन्दा पुरानो बुद्ध मुर्तिहरू द्धितिय सताब्दीको भएको पुष्टि गरेता पनि त्यसले यस अगाडि कुनै बुद्ध मुर्ति नभएको र पुजा गर्ने प्रचलन छैन भन्ने कुरालाई पुष्टि हुँदैन ।

त्यसै गरी थेरवादी सिद्धान्त अनुसार बुद्धको शरीरमा शरण गमन गर्ने प्रचलन नभएका कारण उहाँहरूका ग्रन्थमा बुद्धमर्ति पुज्ने चलन उल्लेखित नभएता पनि तर महायानी सिद्धान्तमा बुद्धको कायलाई ज्ञानको स्वरुप मानी पुजा गर्ने प्रचलन रहेकाले सो प्रचलनलाई बुद्धको वचन विपरित हो भनी भन्दा मिल्दैन । वास्तवमा महायान बौद्ध परम्पराको अभ्यास बुुद्धकालबाटै हुँदै आएको थियो त्यसकारण उक्त समयमा कुनै विहार, दरवार लगायत अन्य स्थानमा बौद्ध मुर्तिकलालाई प्राथमिकता दिई पुजा गर्ने प्रचलन थिएन भनी प्रमाणित गर्नु पनि कठिन होला ।

माथि उल्लेखित मत भिन्नताहरू गम्भिर अनुसन्धान गरी लामो समय लिएर लेखिएको नभई छोटो समयमा केहि विद्धानहरूको मत अनुसार यहाँ प्रस्तुत गरिएको हो र यसमा कुनै त्रुटि भए क्षमा याचना गर्दै यसलाई समाप्त गर्न चाहन्छु । सर्व मंगलम् ।

खेन्पो साङ्गे फुन्छोग

शेक्षेन गोन्पा, बौद्ध–६, काठमाण्डौं

 
अनुमति विना प्रकाशन गर्न मनाहि छ ।



Laser 5210N Free counter and web stats