हिमाली शेर्पा

     

 
 
 
बौद्ध मुर्तिकलाको सृजना र विकास

मानव समाजमा भाषा र लिपि नहुनु अगावै मुर्तिकला र चित्रकलाको विकास वा सृजना भएको हो भनी मानिएको छ किनभने भाषा र लिपिको आरम्भ भन्दा पहिले नै मानिसहरूले कुनै कुराको स्मरण गर्नको निम्ति ढुङ्गा र काठ इत्यादि वस्तुहरूमा खोपी आकार बनाई त्यसलाई प्रयोग गर्दै आएका कारण मुर्तिकला र चित्रकलाको विकास परापूर्व काल देखि नै भएको अनुमान लगाउन सकिन्छ । त्यसै गरी पश्चिमी पुरातत्व अनुसन्धानकर्ताहरूले खोज गर्ने क्रममा करिब बीस (२०) हजार वर्ष भन्दा अगाडिका मुर्तिहरू पनि अहिले फेला पारेका छन् ।Buddhist statues

भारतको सिन्धुघाटीबाट पनि करिब ५,००० देखि ६,००० बर्ष पुराना मुर्ति र सिक्काहरू फेला परेको अनुसन्धान कर्ताहरूबाट पुष्टि भएको छ । साथै तिब्बतमा पनि करिब ४,००० वर्ष पुराना मूर्तिकला र चित्रकलाका केहि अंशहरू फेला परेका छन् । त्यसकारण यस जगतमा मुर्तिकला र चित्रकलाको विकास र सृजना परापूर्वक कालदेखि नै भएको सत्य तथ्य प्रमाणित भइसकेको छ ।


बौद्ध मुर्तिकलाको सृजना र विकासको सन्दर्भमा कुरा गर्नुपर्दा बौद्ध महायान सूत्रमा उल्लेख भएको र विद्धानहरूको मत अनुसार काय, वाक र चित्त गरी तीन प्रकारका प्रतिकहरू निर्माण गर्ने प्रचलन रहि आएको छ । त्यसमध्ये पनि चित्तको प्रतिकलाई प्रथम प्रतिकको रुपमा मानिएको छ किनकि सर्वप्रथम गौतम बुद्ध लुम्बिनीमा जन्म हुँदा उहाँका पिता शुद्धोधनले उहाँको जन्म स्मृतिको निम्ति पदम चैत्य नामक चैत्य निर्माण गरेका थिए ।

त्यही चैत्यलाई बौद्ध सिद्धान्त अनुसार प्रथम चैत्यको रुपमा मानिएको छ । त्यस पश्चात् कायको प्रतिकको रुपमा बुद्ध प्रतिमाहरूको निर्माण भगवान् बुद्ध देवलोकमा प्रस्थान गर्नु भएको समयमा श्ररावस्तीका राजा प्रशन्जीत र त्यहाँका प्रजाहरूले बुद्धको अनुपस्थितिमा उहाँको असहनीय याद आएकाले उहाँका सेवक भिक्षु आनन्द मार्फत अनुमति प्राप्त गरी मुनिन्द्र नगर प्रस्थान अभय मुद्रामा अवस्थित सम्पूर्ण लक्षणले युक्त अति सुन्दर र अद्भुत चन्दनको मुर्ति निर्माण गरेका थिए र सोही मुर्ति नै बौद्ध मुर्तिकला जगतमा प्रथम काय प्रतिक वा प्रथम मुर्तिको रुपमा मानिएको छ ।

क्रमशः सो मुर्ति पछि आएर चीन भित्रिएको थियो । त्यसै मुर्तिलाई आधार मानी चित्रण गरिएको चिनीयाँ शैलीको सिथाङ नामक थाङका चित्र प्रचलनमा आएको हो भन्ने कुराहरू बौद्ध ग्रन्थमा उल्लेख भएको छ । त्यसै गरी बुद्धकालमा बुद्धका मुख्य दानदाता अनाथपिन्डिका जस्ता विभिन्न दाताहरूले बुद्ध लगायत भिक्षुगणलाई भिक्षाटनमा निमन्त्रणा गर्दा कुनै समयमा कारणवस बुद्ध उपस्थित हुन् नसक्दा भिक्षुगणहरूको माझ बुद्धको आसन खाली देख्दा उनीहरूको मनमा खिन्नता उत्पन्न भई अनाथपिन्डिका स्वयंले बुद्धबाट अनुमति लिइ विभिन्न अमूल्य रत्नहरू संकलन गरि बुद्धको मुर्ति निर्माण गरेका थिए ।

बुद्धको जीवनकालको अन्त्यतिर हस्तकलाका सम्राट विश्वकर्माले आठ, बाह्र र पच्चिस वर्षिय रुपकारका बुद्ध स्वयंको प्रत्यक्ष अनुभुति गराउने अति सुन्दर र अद्भुत मुर्तिहरू निर्माण गरेका थिए, त्यस मध्येका आठ र बाह्र वर्षिय रुपाकारका मुर्ति बुद्धको कान्छी आमा प्रजापति गौतमीलाई सोधपुछ गरी निर्माण गरिएको थियो र पच्चिस वर्षिय रुपाकारको मुर्तिचाँहि सर्व साधारणले देखेका र सुनेका भनाईलाई आधार मानी बनाइएको थियो । सो मुर्तिहरू मध्ये २५ वर्षिय मुर्ति देवराज इन्द्रले देवलोकमा निमन्त्रणा गरी लगेको कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

बाँकी दुई मुर्ति देव, नाग र उडियान लगायत विभिन्न ठाउँ हुँदै बुद्धगया पुगी सोही ठाउँमा धेरै समयसम्म रही पाल राजाको काल अवधिमा आठ वर्षिय रुपाकारको मुर्ति नेपाल र बाह्र वर्षिय रुपाकारको मुर्ति चीनमा भित्रिएको हो । सोही मुर्तिहरू सातौँ सताब्दीका तिब्बती राजा सोङचेन गम्पोले हिम पर्वत तिब्बतमा बौद्ध धर्म प्रचार प्रसारका निम्ति नेपालका तत्कालिन राजा अंशुवर्माकी राज कुमारी भृकुटी र चिनियाँ राजकुमारी कोङज्योलाई विवाह गरी ल्याउँदा उनीहरूले उपहारको रुपमा तिब्बत भित्राएर रासा ठुल्नाङ र रामोछे नामक विहार निर्माण गरी त्यस मुर्तिलाई त्यहाँ राखिएको थियो । ती मुर्तिहरू आज पनि तिब्बतमा दर्शन गर्न सकिन्छ ।

साथै सोङचेन गम्पोकै समयमा नेपालका मूर्तिकारहरूलाई तिब्बतमा हजार आँखा, हजार हात र एघार मुखी आर्यलोकेश्वरको प्रतिमाको स्थापना गरिएको थियो र सोही प्रतिमालाई तिब्बतमा बनाईएको मुर्तिहरू मध्येको पुरानो र प्रथम मुर्ति हो भनी तिब्बती इतिहासमा लेखिएको पाईन्छ । त्यसै गरी आठौँ शताब्दीका तिब्बती राजा ठिसोङ देउचेनले भारतबाट गुरु पदम सम्भव र शान्त रक्षितलाई निमन्त्रणा गरी नेपाल, चीन र त्यहाँकै स्थानीय कलाकारहरूको सहयोग लिई प्रसिद्ध साम्ये विहार लगायत विभिन्न मुर्तिहरू र अन्य धेरै विहारहरू निर्माण गरी सोही समयदेखि तिब्बतमा बौद्ध मुर्तिकला, चित्रकला जस्ता विभिन्न कलाहरूको विकास हुँदै हालसम्म पनि ती परम्पराहरू रही आएका छन् । learn more

 

खेन्पो साङ्गे फुन्छोग

शेक्षेन गोन्पा, बौद्ध–६, काठमाण्डौं

 
अनुमति विना प्रकाशन गर्न मनाहि छ ।



Laser 5210N Free counter and web stats