लोसार, लो भनेको बर्ष हो र सार भनेको नयाँ हो अर्थात लोसारको शाब्दिक अर्थ हो एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु । हाम्रो समाजमा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरु आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको लोसार (नयाँ बर्ष) को स्वागत्को लागि ठूलो जमर्को गर्नुपर्छ ।
ञिशुगु अर्थात कृष्णपक्षीय चतुर्दशीको दिन अथवा जान लागको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न चीज (गेडागुडी)हरु हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खाइन्त । त्यस पछि आउन लागेको
लोसारको लागि विशेष गरी घरहरु सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरु कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन् । विभिन्न किसिमका फलफूल र गेडागुडीहरु पनि सजाइन्छन् । लोसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन ।
विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी ध्वजाहरु फरफराउँछन् । साङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरु आदान–प्रदान गरी लोसार मनाउने गर्छन् । यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रुपमा ठूलो हर्षोल्लासकासाथ १०÷१५ दिनसम्म लोसार मान्ने परम्परा छ ।
शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरुले पनि हर्ष बडाई गरी यो लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ बर्ष लागेको हुन्छ । नयाँ बर्षको मतलव चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तर तिर फर्केको हुन्छ ।
यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरु पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भनिएको छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा लोसार मान्ने गरेको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन् ।
हामी सबैले आफूनो जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षण गरौ